२०८१ श्रावण १२

आज राष्ट्रियसभा सदस्य उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने ।

काठमाडौँ, राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । उमेदवारी फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता लिने र उमेदवारको अन्तिम नामावली प्रकाशन आज गरिने निर्वाचन आयोगले जनाएको छ ।
पुस २८ गते (भोली) बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभामा रिक्त १९ पदका लागि मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिनेछ ।
निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।
स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ ।
निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।