२०८१ श्रावण १२

राष्ट्रिय सभा सदस्यको दुई उम्मेदवारहरूविरूद्ध उजुरी दर्ता, आयोगले आज र भोली जाँचबुझ गर्ने ।

काठमाण्डौँ, सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का दलित समूहका उम्मेदवार विष्णु विकविरूद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
भट्टविरूद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरूद्ध एमालेकै उम्मेदवार हिक्मत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका छन् । यी उजुरीमाथि निर्वाचन कार्यालयले आज र भोली जाँचबुझ गर्नेछ ।
पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले उम्मेदवारलाई पुस २८ गते निर्वाचन चिह्न प्रदान गर्नेछ ।
नर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्संख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।