२०८१ श्रावण १२

कोशी प्रदेशसभाको सभामुखमा राप्रपाका अम्बर बहादुर विष्ट सर्वसम्मत चयन

काठमाण्डौँ, कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बर बहादुर विष्ट सर्वसम्मत चयन भएका छन् ।
कोशी प्रदेशसभाको आज (मंगलबार) बसेको बैठकबाट उनी सर्वसम्मत चयन भएका हुन् ।
गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । मंगलबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजै सकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गरेको थियो ।

सोही निर्णयको आधारमा बिहान १० बजे बसेको प्रदेशसभाको बैठकले निर्वाचन सम्बन्धी तालिका प्रकाशित गरेको हो । निर्वाचन तालिका अनुसार दिउँसो ३ बजे निर्वाचन राखिएको थियो । सो सूचना अनुसार विष्टले उम्मेदवारी दिएका थिए ।
दिउँसो ३ः३५ मा बसेको प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला र समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख सिर्जना दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गरेकी हुन् ।