२०८१ श्रावण १२

आज कोसी प्रदेशले सभामुखको टुंगो लगाउने, दिउँसो ३ बजे सभामुख चयन प्रक्रिया थालिने ।

काठमाण्डौँ, कोसी प्रदेशमा सभामुखको टुंगो लगाउन प्रदेशसभाको बैठक बस्दै छ । दिउँसो ३ बजे सभामुख चयन प्रक्रिया थालिने कार्यसूची तय गरिएको छ ।
सर्वसम्मत रूपमा सभामुख चयन गर्ने विषयमा निर्णय गर्न दलहरूले छलफल गरिरहेका छन् । कोसी प्रदेशसभा सचिवालयमा छुट्टाछुट्टै रूपमा प्रमुख दलहरूको संसदीय दलको बैठक जारी छ । नेपाली कांग्रेस र नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने सभामुख पद आफूले लिने निर्णय गरिसकेको छ । मंगलबारै बिहान बसेको राप्रपा कोसी प्रदेश संसदीय दलको बैठकबाट सांसद अम्बरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने निर्णय गरिएको छ ।