२०८१ श्रावण १२

बंगलादेशमा आज निर्वाचन, १५सय भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा ।

बंगलादेशमा आज (आइतबार) मतदान हुंदैछ ।आजको निर्वाचन प्रक्रियामा २७ पार्टी र ४ सय ३६ स्वतन्त्र गरी १५०० भन्दा बढी उम्मेदवार ३०० संसदीय सिटका लागि प्रतिस्पर्धा गर्दै छन् ।
बंगलादेशको निर्वाचन आयोगका अनुसार ११९.६ मिलियन मतदाता छन्, जसले आज (आइतबार) ४२ हजार भन्दा बढी मतदान केन्द्रमा मतदान गर्न सक्नेछन् ।


प्रमुख विपक्षी पार्टी बीएनपीले चुनाव बहिस्कार गरेको छ । बीएनपीका प्रमुख पूर्वप्रधानमन्त्री खादिला जिया नरबन्दमा छिन् । र उनको दलले मतदान लक्षित गरेर शनिबार विहान ६ बजेदेखि सोमबार विहान ६ बजेसम्म ४८ घण्टे हड्ताल आह्वान गरेको छ ।
निर्वाचनमा सहभागी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् ।


यस्तोमा वर्तमान प्रधानमन्त्री शेख हसिनाको लगातार चौथो जित हासिल गर्नु औपचारिकता मात्र मानिएको छ ।
प्रधानमन्त्री हसिना पछिल्लो केही वर्षमा तीव्र गतिमा निरंकुश भएको विपक्षीको आरोप छ । बीएनपीका नेता अब्दुल मोइन खानले ‘बंगलादेशमा लोकतन्त्र मरिसक्यो । हामीले जे देख्दैछौं, त्यो फर्जी चुनाव हो ।’
हसिना सरकारले भने अलोकतान्त्रिक भएको आरोपलाई अस्वीकार गर्दै आएको छ र बंगलादेशले अनपेक्षित आर्थिक सफलता हात पारेको छ, त्यसले प्रधानमन्त्री हसिनाको स्वीकारोक्ति बढेको छ । मुस्लिम बहुल बंगलादेश एक समयसम्म विश्वकै सबभन्दा गरिब देशमध्ये एक थियो । तर सन् २००९ पछि ऐतिहासिक आर्थिक प्रगति हासिल गरेको दाबी छ ।