२०८१ श्रावण १२

नेकपा एमालेले १९ वटै पदमा उम्मेदवारी दिने ।

काठमाडौँ, माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमालेले १९ वटै पदमा उम्मेदवारी दिने भएको छ ।
शुक्रबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे प्रारम्भिक छलफल भएको र थप छलफल गरेर पार्टीले निर्णय लिने उनले बताए ।
‘प्रदेश कमिटीले प्रत्येक क्लस्टरमा ३ जनाको नाम सिफारिस भई आएको छ । ती नामका बारेमा छलफल गरेका छौ । कतिपय क्लस्टरमा थप छलफल गर्नुपर्ने भएको छ’, पोखरेलले भने, ‘थप छलफल र प्रस्ट भएपछि पुस २३ गते १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौ’, पोखरेलले बैठकपछि जानकारी दिए ।
यस्तै एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सचिवालय बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, बागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको महासचिव पोखरेलले जानकारी दिए ।
एमालेले भारतीय परराष्ट्र मन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमति र सम्झौताबारे सत्तापक्षले आफूहरूलाई बेवास्ता गरेको बताएको छ । दुई देशबिचको ज्वाइन्ट कमिसन मार्फत गरेका सहमति र निर्णयहरुबारे सत्तापक्षले आफूहरूसँग कुनै छलफल र संवाद नगरेकोमा चिन्ता प्रकट गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।