२०८१ श्रावण १२

सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसघ

काठमाण्डौँ, राष्ट्रसघले सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसघको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदन बिहीबार सार्वजनिक गरेको छ ।
सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका थियो । विश्वव्यापी कमजोर व्यापारीक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ ।
संयुक्त राज्य अमेरिकामा उच्च ब्याज दर न्युन उपभोक्ता खर्च तथा कमजोर श्रम बजारहरुका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ । विकासोन्मुख देशहरु पूर्वी एसिया, पश्चिमी एसिया, ल्याटिन अमेरिका तथा क्यारेबियाली मुलुकका अल्पकालीन वृद्धि सम्भावनाहरु संकुचित र चुनौतीपूर्ण वित्तीय अवस्था र सुस्त बाह्य मागका कारण कमजोर हुँदै गएको जनाइएका छन् ।
न्यून आय तथा कमजोर अर्थतन्त्रहरुले भुक्तानी सन्तुलनको दबाब र ऋणले जोखिमको सामना गरिरहेका छन् । साना, टापु तथा विकासशील राज्यहरुको आर्थिक सम्भावनामा ऋणको बोझ, उच्च ब्याजदर तथा बढ्दो जलवायु जोखिमले बाधा पर्ने रिपोर्टले जनाएको छ ।