२०८१ श्रावण १२

अमेरिकाको अदालतमा न्यायाधीशमाथि आक्रमण ।

अमेरिकाको एउटा अदालतमा एक पुरुषले महिला न्यायाधीश मेरी के होलथसमाथि आक्रमण गरेका छन् ।
नाभेदाको क्लार्क काउन्टी डिस्ट्रिक्ट अदालतमा न्यायाधीश मेरी के होलथसले आरोपीलाई जेल सजायको फैसला सुनाएपछि प्रतिवादी डियओब्रा डेलोन रेडनले उफ्रिएर न्यायाधीश होलथसमाथि हमला गरेको सेक्युरिटी फुटेजले देखाएको छ । अघिल्लो सुनवाईमा रेडनमाथि लगाइएका अभियोगहरुमा उनी दोषी भेटिएका थिए । उनीमाथि यसअघि लागेका अभियोग र उनको आपराधिक इतिहासका कारण आफूलाई रिहा गरिदिन रेडनले गरेको अनुरोध होलथसले अस्वीकार गरेको पनि फुटेजमा देखिएको छ ।
योलगत्तै रिसले चुर भएका रेडनले उफ्रिएर न्यायाधीशमाथि आक्रमण गरे । चार जना पुरुषले आक्रमण रोक्ने प्रयास गरेपनि प्रयास असफल भएको थियो । रेडनले बारम्बार होलथसको मुखमा मुक्का हानको सिसिटिभी फुटेजमा देख्न सकिन्छ । होलथसलाई केही चोट लागेको बताइएको छ । चोट कति गहिरो छ भन्ने यकिन भइसकेको छैन । उनी अहिले अस्पतालमा भर्ना छिन् । रेडनमाथि अब थप अभियोगहरू चलाइने भएको छ ।