२०८१ श्रावण १२

इरानमा बम बिस्फोट, सय जनाभन्दा बढीको मृत्यु ।

इरानी सैनिकका पूर्व कमाण्डर कासिम सुलेमानीको समाधिस्थल नजिकै बम बिस्फोट हुँदा १०३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
चार वर्षअघि हिजोकै दिन अमेरिकी हवाई आक्रमणमा सुलेमानी मारिएका थिए । सुलेमानीको सम्झनामा इरानको केरमानस्थित उनको समाधिस्थलमा एक समारोह राखिएको थियो । समारोह भइरहँदा स्थानीय समयअनुसार दिउँसो ३ बजे बिस्फोट भएको इरानका आन्तरिक मन्त्री अहमद अहिदीलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ ।


समारोहस्थलबाट करिब ७ सय मिटर पर पहिलो बिस्फोट भएको थियो । इरानको समाचार संस्था आइआरआइएनएनका अनुसार कारभित्र सुटकेशमा राखिएको बम बिस्फोट भएको जनाइएको छ । बिस्फोटमा परी घाइतेहरूको उद्धार चलिरहँदा २० मिनेटपछि पुनः अर्को बिस्फोट भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । इरानका राष्ट्रपति इब्राहिम रइसीले यसमा इसराइलको हात रहेको आरोप लगाउँदै यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
इरानमा आतंकवादी हमला भएको भन्दै रूस र टर्कीले पनि घटनाबारे कडा निन्दा गरेका छन् । उता, इजराइली अधिकारीहरूले यसमा कुनै टिप्पणी नगर्ने बताएकाछन् ।
घटनापछि पत्रकारहरूसँगको कुराकानीमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरले घटनामा को जिम्मेवार छ भन्ने विषय सार्वजनिक नभएका कारण यसमा इजराइलकै हात हुने दाबी गर्न नहुने बताए ।
बिस्फोटपछि इरानले आज िएक दिन शोकको घोषणा गरेको छ । राष्ट्रपति रायसीले टर्की यात्रा रद्द गरेका छन् ।