२०८१ श्रावण १२

काठमाडौं महानगरपालिकाद्धारा तीन जना कर्मचारी निलम्बित ।


काठमाण्डौँ, काठमाण्डौँ महानगर पालिकाले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, सहित तीनजना कर्मचारीलाई निलम्बन गरेको छ ।
कार्यपालिकाको निर्णय विपरीत फरक व्यहोरा उल्लेख गरी कर्मचारीलाई निरन्तरता दिने निर्णयमा प्रमाणीकरण गरेकाले मेयरका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए ।
महानगरपालिकाको बैठकले वडा नम्बर–१९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ ।
उक्त प्रबर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेको थियो । सम्झौता अवधि सकिएपछि महानगरले सञ्चालन गर्ने भनेर कार्यपालिकाले निर्णय गरेको थियो ।
कार्यपालिकाको निर्णय नै तोडमोड गरेको सूचना पाएपछि छानबिन गर्दा अनियमितता भएको पाइएपछि सम्बन्धित व्यक्तिहरूलाई निलम्बन गरी समिति गठन गरेर महानगरले छानबिन गरिरहेको छ ।
प्रमुख प्रशाशकीय अधिकृत आफैं यस घटनामा संलग्न भएको पाइएपछि उनलाई छानबिन कार्य नसकुन्जेल मेयरले बिदामा बस्न भनेको छ । सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । उक्त समितिमा कानुन सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल छन् ।
छानबिन प्रतिवेदनको सुझावअनुसार दोषी उपर कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।