२०८१ श्रावण १२

नेपाली काँग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो ।
कांग्रेसले आज काठमाडौंको प्रज्ञाभवनमा हुने कार्यक्रममा संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरुबिच मेलमिलाप भन्ने नारा बनाएको हो ।
आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रम तय भएको छ । कार्यक्रममा वक्ताका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर रहेका छन् ।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।
आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै २०३३ साल पुस १६ गते स्वदेश फर्किएका कांग्रेस नेताहरुले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी वीपी कोइरालालाई रिहा गरिएको थियो ।