२०८१ श्रावण १२

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर

काठमाण्डौं, चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.बीच सम्झौता भएको छ ।
सोमवार समिति र प्रा.लि.बीच पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्युनतम सट्टापट्टा बहाल र नियमानुसार महशलु बाँडफाँड गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो ।
करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरे ।
हस्ताक्षरपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले संस्थाले न्युनतम शुल्क लिएर स्तरीय सेवा दिइ वार्षिक १ सय ३० करोड भन्दा बढी आम्दानी गरिरहेको बताए । उनले चालु आर्थिक वर्षको बजेटमा इन्टरमोडल यातायात विकास समितिको कार्यालय खारेजी गर्ने बताएपनि कार्यालय खारेजी नहुने बताए ।


चोभार सुक्खा बन्दरगाह सञ्चालन शुरु भएको करिव २० महिनाको अवधिमा व्यापारीक प्रयोगमा वृद्धि भइरहेकोपनि बताए ।
चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि बल्खु—दक्षिणकाली सडक खण्डको कीर्तिपुर स्थित् ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउने कार्य र निजगढ–काठमाडौ द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न अत्यावश्यक रहेको बताए।


सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बोल्दै प्रवन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतिहरु रहेपनि त्यसलाई मध्यनजर गरी गृहकार्य शुरु गरिसकेको बताए । उनले आफूहरुले दिने सेवा स्तरीय बनाउन आफूहरुको प्रयास रहने बताए ।
समितिले गत साउन ९ गते टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकन मार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको लागि अनुमति दिएको हो ।