२०८१ श्रावण १२

भारतको तीन प्रदेशमा भाजपा विजयी, कंग्रेस आईलाई धक्का

भारतको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले तीन प्रदेशमा जित हासिल गरेको छ ।
भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको हो । मध्य प्रदेशमा कुल २ सय ३० सिटमध्ये भाजपाले १ सय ६४ सिट जितेको छ भने कंग्रेस–आईले ६५ सिट मात्र जितेको छ । त्यस्तै राजस्थानमा कुल २ सय १५ सिटमध्ये भाजपाले १ सय १५ र कंग्रेस आईले ६९ सिट जितेको छ ।
छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कंग्रेस आईले ३२ सिट जितेको छ । भाजपाले यी तीन प्रदेशमा जित हासिल गरेसँगै कंग्रेस आईलाई ठूलो धक्का लागेको छ । सन् २०१८ को निर्वाचनमा यी तीनै प्रदेशमा कंग्रेस आईले जित हासिल गरेको थियो ।


तेलंगना राज्यमा भने कंग्रेस आईले भारत राष्ट्र समिति (बिआरएस) को दस वर्षे सत्ताको अन्त्य गरेको छ । तेलंगनामा कुल १ सय १९ सिटमध्ये कंग्रेस आईले ६४ र बिआरएसले ३९ र भाजपाले ८ सिट मात्र जितेको छ ।
एक वर्षपछि, सन् २०२४ मा भारतमा लोकसभा चुनाव हुँदैछ । लोकसभाले संघीय सरकार बनाउँछ । अहिले भएका चुनावले नरेन्द्र मोदी नेतृत्वको भाजपाले तेस्रो पटक बहुमतसहित सरकार बनाउने बलियो सम्भावनाको संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।