२०८१ श्रावण १२

भारतको विधानसभा निर्वाचन ः मतगणना भइरहेका चारमध्ये तीन राज्यमा भाजपालाई अग्रता

काठमाडौँ, भारतको चार राज्यमा सम्पन्न विधानसभा निर्वाचन अन्तर्गत आइतबार बिहानदेखि मतगणना सुरु भएको छ ।
मतगणनाको प्रारम्भिक नतिजा अनुसार तीन राज्यमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत सिटमा अग्रता बनाएको छ । मध्यप्रदेश, राजस्थान, तेलंगाना र छत्तीसगढ राज्यको विधानसभा निर्वाचन अन्तर्गत जारी मतगणनामा भाजपाले तेलंगाना बाहेक तीन वटै राज्यमा बहुमत सिटमा अग्रता बनाएको हो । यद्यपि, मतगणनाको अन्तिम परिणाम आउन बाँकी नै छ ।
मतगणनाको पछिल्लो विवरण अनुसार मध्यप्रदेशमा भाजपा एकल बहुमततर्फ अग्रसर देखिन्छ । २३० सिट रहेको विधानसभामा बहुमतका लागि कम्तीमा ११६ सांसद आवश्यक पर्दछ । तर भाजपाले १६४ सिटमा अग्रता बनाएको छ । यस्तै, कांग्रेस आईले ६३ र अन्य दलले ३ सिटमा अग्रता बनाएका छन् ।
मध्य प्रदेशमा अघिल्लो विधानसभा निर्वाचनमा भाजपा १०९ सिटमा सीमित थियो भने कांग्रेस आईले ११४ सिट जितेको थियो । अन्य दलले ७ सिट जितेका थिए ।
यस्तै, राजस्थानमा पनि कांग्रेस आईले आफ्नो प्रभाव कायम राख्न सकेन । १९९ सिट रहेको विधानसभामा बहुमतका लागि कम्तीमा १०० सांसद आवश्यक पर्दछ । तर, राजस्थानमा जारी मतगणना अनुसार भाजपाले ११३ सिटमा अग्रता लिँदा कांग्रेस आई ६९ सिटमा अग्रता कायम गर्न सफल भएको छ । अन्य दलले १७ सिटमा अग्रता बनाएका छन् ।
सन् २०१८ को निर्वाचमा राजस्थानमा कांग्रेस आईले १०० सिट जितेको थियो भने भाजपा ७३ सिटमा सीमित भएको थियो । अन्य दलले २७ सिटमा जितेका थिए ।