२०८१ श्रावण १२

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलबाट साझा उम्मेदवार, एमाले एक्लै लड्ने !

काठमाडौँ, आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन दलले साझा उम्मेदवार बनाएर जाने भएका छन् ।
दलहरूबिच साझा उम्मेद्धार बनाउने पार्तीको औपचारिक निर्णय नभए पनि गठबन्धनको मर्म अनुसार साझा उम्मेदवार बनाएर जाने नेपाली कांग्रेसका प्रवक्ता मीनबहादुर विश्वकर्माले जानकारी दिए । उनले पार्टीमा यसबारेमा अनौपचारिक छलफल भए पनि औपचारिक छलफल हुन बाँकी रहेको बताए ।


प्रवक्ता विश्वकर्माले भने–‘यसबारेमा पार्टीमा अनौपचारिक छलफल भएको छ तर अहिले हामी गठबन्धनमा रहेकोले गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार बनाउँछौँ । यसबारेमा नेताहरूबिचको छलफल भइरहेको नै छ । यसका लागि अन्तर पार्टीभित्र पनि छलफल हुनुप¥यो । केही दिनमै यसबारे निर्णय हुन्छ ।’
यता नेकपा एमालेले पनि राष्ट्रिय सभाको उम्मेदवार तय गर्ने बारेमा औपचारिक छलफल थालेको छैन । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनको मिति भर्खर घोषणा भएकोले छलफल गर्न बाँकी रहेको बताए । उनले भने–‘अहिले हामी पार्टीको अभियानको क्रममा छौँ । बल्ल निर्वाचनको मिति घोषणा भएको छ ।

त्यसका लागि आयोगमा दल दर्ता गर्छौ, त्यसपछि पुसको पहिलो हप्ता वा दोस्रो हप्तातिर मात्र उम्मेदवारको बारेमा पार्टीमा छलफल हुन्छ । त्यसका लागि पर्याप्त समय बाँकी नै छ ।’ गठबन्धनबाट साझा उम्मेदवार बनाए पनि एमाले आफ्नै ढङ्गले चुनाव लड्ने उनले बताए ।