२०८१ श्रावण १२

आज अन्तर्राष्ट्रिय दासता दिवस, नेपालमा १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा

अन्तर्राष्ट्रिय दासता दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ ।
संयुक्त राष्ट्रसघले सन् १९८६ देखि २ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दासता दिवसको रूपमा मनाउन थालेको हो । राष्ट्रसघले आजको दिनलाई विश्वभरबाट दासता उन्मूलन गर्ने उद्देश्यका साथ लिने गरेको छ । दासता आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रूपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूर्ण गरिएका विवाह र सशस्त्र युद्धमा बालबालिकाको प्रयोग सबैलाई दासताका विभिन्न रूपमा मान्ने गरिएको छ ।


अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार आधुनिक समयमा पनि निकै धेरै मानिसहरू दासताको सिकार भइरहेका छन् । आइएलओको पछिल्लो तथ्यांक अनुसार ४ करोडभन्दा बढी मानिसहरू विश्वभर आधुनिक दासताको सिकार बनेका छन् । हुन त कानुनले आधुनिक दासतालाई परिभाषित गरेको छैन, तर अहिले पनि दबाबपूर्ण रूपमा श्रममा लगाउनु, बालबालिकालाई श्रममा लगाउनु, दबाब दिएर गरिएको विवाह र मानव बेचबिखनलाई दासताका रूप लिने गरिन्छ ।
नेपालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जङ्गबहादुर राणाले आजभन्दा ९४ वर्षअगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गरेका हुन् । नेपालका गाउँ गाउँमा अहिले पनि विभिन्न ठाउँमा दासताको नाममा विभिन्न कुप्रथाहरू चलिरहेको यदाकदा सुन्न सकिन्छ । कमलरी प्रथा यसको एउटा उदाहरण हो ।