२०८१ श्रावण १२

राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक, माघ ११ गते बिहान नौ बजेबाट अपराह्न ३ बजेसम्म मतदान

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले माघ ११ गते सो निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले मंसिर २२ गते दल दर्तासम्बन्धी सूचना प्रकाशित गर्ने गरी निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर २२ गते सो निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि सूचना प्रकाशित हुने गरी मंसिर १४ गते सो निर्वाचनको कार्यतालिका स्वीकृत गरी शुक्रबार (आज) सार्वजनिक गरिएको जानकारी दिए।
दल दर्ताका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्मको समय तोकिएको बताए। पौष १ गते ती दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।


निर्वाचन आयोगका अनुसार पौष ४ गते दर्ता भएका दलहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । पौष १६ गते सो निर्वाचन प्रयोजनका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ।
आयोगका प्रवक्ता पौडेलले पौष २० गतेदेखि २९ गतेसम्म राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यक्रम हुन्छ । मतदाता नामावलीको नाम प्रकाशित गर्ने, त्यो माथि दाबीविरोध, उजुरीहरु लिने, अन्तिम नामावली प्रकाशित गरिने बताए ।
मनोनयन दर्ता गर्ने, त्यसमाथि दाबी, विरोध, उजुरी लिने, त्यसमा जाँचबुझ गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, फिर्ता लिने लगायतका कामहरु सो अवधिमा हुने पनि प्रवक्ता पौडेलले बताए।
कार्यतालिकाअनुसार निर्वाचन अधिकृतको कार्यालयले प्रदेशको राजधानीमा अनुकुल हुने गरी मतदान स्थल तोक्नेछ । माघ ११ गते बिहान नौ बजेबाट अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।


निर्वाचन कार्यतालिकाअनुसार मतदानस्थलमा दुई वटा मतदान केन्द्र हुनेछ । प्रदेश सभा सदस्यहरुले मतदाता गर्ने मतदान केन्द्र र अर्को पालिकाको मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षले मतदान गर्ने मतदान केन्द्र हुने छ ।
फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये १९ पदका लागि सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरेको हो । रिक्त १ जना राष्ट्रिय सभा सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ।