२०८१ श्रावण १२

देशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउने संस्थाहरूले पुस मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने

काठमाडौँ, वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुले पुस मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने भएको छ ।
१५ हजार रुपैयाँ नवीकरण दस्तुर तिरेर पुस मसान्तभित्र नवीकरण गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ एवं वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क मा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सूचिकृत स्वास्थ्य संस्थाहरुले सूचीकरण नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
त्यस्त,ै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ४ अनुसार सूचीकृत भएका वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले सूचीकरण नवीकरण भएको मितिदेखि तेस्रो वर्षको पौष एक गतेदेखि पौष मसान्तसम्म १५ हजार रुपैयाँ तिरेर नवीकरण गर्नुपर्ने उल्लेख छ ।
सोही आधारमा मन्त्रालयको बैंक खातामा तोकिएको दस्तुर र रकम जम्मा गरी पुस मसान्तभित्र सूचीकरण नवीकरणको लागि निवेदन पेस गर्न अनुरोध गरेको छ ।
नवीकरणको लागि निवेदन दिँदा सूचीकरण प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो नवीकरण भएको भए सो प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।
त्यस्तै अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, स्वास्थ्य मन्त्रालय वा अन्तर्गतबाट संस्था सञ्चालन स्वीकृतिको प्रमाणपत्र र नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समेत पेस गर्नुपर्नेछ । नाम वा ठेगाना परिवर्तन गरेको भए सम्बन्धित निकायबाट सोको स्वीकृति प्राप्त गरेको पत्रको प्रतिलिपि पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ । तोकिएको सर्तहरू पूरा नगरिएको खण्डमा नवीकरण नगर्ने र कारोबार रोक्का गरिने मन्त्रालयले जनाएको छ ।