२०८१ श्रावण १२

राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेल संघलाई बर्गीकरण गर्ने

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय खेल संघलाई बर्गीकरण गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ परिच्छेद २ को नियम ३ बमोजिम समिति र राखेपका सदस्य–सचिवबाट खेलको बर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद्मा पेश गर्ने व्यवस्था भए अनुरुप राखेपका पूर्व सदस्य–सचिव युवराज लामाको संयोजकत्वमा ७ सदस्यीय खेलको बर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको छ ।
सदस्यहरुमा राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सह–महासचिव पिताम्बर तिम्सिना, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा, माउन्टेन स्पोर्ट्स फेडरेसन नेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई रहेका छन् । प्राविधिक प्रतिनिधिमा रञ्जन थापा तथा सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई छन् ।


खेल संघलाई क्रियाशिल बनाइ खेलकुद गतिविधिहरुको कार्यन्वयनमा प्रभावकारिता ल्याउन सदस्य–सचिव टंकलाल घिसिङबाट कार्यदल गठन गर्ने निर्णय गरिएको हो । कार्यदलले विस्तृत अध्ययन गरी २१ दिन भित्र राखेपका सदस्य–सचिव टंकलाल घिसिङ समक्ष प्रतिवेदन पेश गर्नु पर्ने छ ।
सदस्य–सचिव घिसिङ राखेपको नेतृत्वमा २४ संघले निर्वाचन सम्पन्न गरिसकेका छन् भने कराँते, शारीरिक सुगठन, मुवाँथाइ र पेन्टाथलन संघको एकिकरण समेत भइसकेको छ ।
खेल संघको संख्यालाई दुई अंकमा झार्ने अभियानमा सदस्य–सचिव घिसिङ गम्भीर भएर कार्यान्वयन प्रकृयामा लागेको राखेपले जनाएको छ ।