२०८१ श्रावण १२

यूएई जाने नेपाली मोह,  वर्ष दिनमै पुगे साढे दुई लाख

काठमाडौं, नेपाली ‘भिजिट भिसा’मा युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपालीको संख्या ह्वात्तै बढेको छ ।
“सन् २०२२ मा भिजिट भिसामा दुई लाख ५५ हजार नेपाली यूएई आएको विवरण हामीलाई प्राप्त भएको छ,” यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भने । श्रम स्वीकृति लिएर वर्किङ भिसामा वैदेशिक रोजगारीमा यूएई जानेभन्दा भिजिट भिसामा यूएई जानेको संख्या दुई गुणाभन्दा बढी छ ।


वैदेशिक रोजगार विभागका अनुसार, गत आर्थिक वर्ष २०७९–८० (जुलाई १७, २०२२ देखि जलाई १६, २०२३) मा वैदेशिक रोजगारीका लागि यूएई जान १ लाख १६ हजार १५९ जनाले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिनेमा ९२ हजार ६८ जना पुरुष र २४ हजार ९१ जना महिला छन् । अघिल्लो आर्थिक वर्ष २०७८–७९ (जुलाई १६, २०२१ देखि जुलाई १६, २०२२ ) मा १ लाख २२ हजार ६३५ जना नेपालीले यूएई जान विभागबाट अन्तिम श्रम स्वीकृति लिएका थिए ।
श्रम स्वीकृति लिनेमा १ लाख १ हजार ४९६ पुरुष र २१ हजार १३९ महिला थिए । “सन् २०२३ मा के कति जना नेपालबाट भिजिट भिसामा यूएई आएका छन् विवरण प्राप्त भइसकेको छैन । अघिल्लो वर्षभन्दा बढी आउने संकेत विभिन्न सूचकले देखाएको छ,” राजदूत क्षेत्रीले भने ।


राजदूत क्षेत्रीका अनुसार यूएईमा तीन लाखभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर आई काम गरिरहेका छन् । भिजिट भिसामा आउने समेत गर्दा यूएईमा पाँच लाखभन्दा बढी नेपाली रहेको उनले जनाए ।
“पछिल्लो समय घुम्न, व्यापार गर्न यूएई आउने नेपालीको संख्या पनि बढेको छ । जसले गर्दा भिजिट भिसामा आउनेको संख्या बढ्दै गएको छ,” उनले भने । नेपालीहरुले यूएईका विभिन्न स्थानमा होटल तथा रेष्टुरेन्टमा लगानी गरेको उनले जनाए ।
“नेपालबाट यूएईमा कति धेरै मानिस आउँदै छन् भन्ने दैनिक जहाजको उडान संख्याले पनि देखाउँछ । प्रत्येक दिन युएई र नेपालबीच विभिन्न एयरलाइन्सले ८ वटा उडान गर्ने गरेका छन्,” राजदूत क्षेत्रीले जानकारी दिए ।