२०८१ श्रावण १२

पेट्रोल र डिजेलको मूल्य घट्यो, एलपी ग्यासको मूल्य भने यथावत

काठमाडौं, नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल, मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ ।
मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ र डिजेलको मूल्य १६० रुपैयाँमा झरेको छ । सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६९ रुपैयाँ र डिजेलको मूल्य १ सय ५९ रुपैयाँ कायम भएको छ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ र डिजेलको मूल्य १ सय ५७ रुपैयाँ कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य घटाएको हो ।
निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ बढेर आएको छ । अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।
तर, आम उपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।