२०८१ श्रावण १२

आयातित कृषि उपजमा समय अनुसार भन्सारदर तोक्न समितिको निर्देशन 

काठमाडौँ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आयातित कृषि उपजमा सिजन अनुसारको भन्सारदर तोक्न निर्देशन दिएको छ ।
समितिको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास र अर्थ मन्त्रालयलाई विदेशबाट आयात हुने कृषि उपजमा सिजन अनुसारको भन्सारदर कायम गर्न निर्देशन दिएको हो ।
नेपालमा उत्पादन भएका वस्तुले आयातित वस्तुका कारण बजार नपाएको भन्दै समितिकी सभापति डा. आजु राणाले सिजन अनुसारका भन्सारदर कायम गर्न मन्त्रालयहरूलाई निर्देशन दिएकी हुन् । कतिपय स्वास्थ्यलाई नै असर गर्ने खाद्य वस्तु पनि भन्सार पास भएर आउने भएकाले त्यसलाई रोक्न पर्ने सभापति राणाको भनाइ छ ।
नेपालमा कुन महिन के बढी उत्पादन हुन्छ, त्यस अनुसार आयातमा कडाइ गर्न सिजनल भन्सार दर लगाउनुपर्छ सभापति राणाले भनिन् । स्वास्थ्यलाई हानी पुग्ने खालका माछाका भुराहरू पहाडतिर समेत पुगिसकेका छन् । त्यस्तै, केरामा लाग्ने रोगको रोकथामका लागि पनि सम्बन्धित निकायले भूमिका खेल्नुपर्ने उनले बताइन् । कृषि क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान गरेको भन्दै सरकारले कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ ।
रेमिट्यान्स पछि अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान रहेको भन्दै उनले सरकारले आगामी बजेटमा कृषिमैत्री बजेट छुट्याउनुपर्ने उनको भनाइ छ ।