२०८१ श्रावण १२

पाथीभरा मन्दीरमा संकलीत भेटी सार्वजनिक

पूर्वी नेपालको पवित्र धार्मिकस्थल पाथीभरा मन्दीरमा चालु आर्थिक वर्षमा साढे आठ करोड रूपैयाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
भक्तजनले गत मंसिर मसान्तसम्ममा चडाएको आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ रूपैयाँ भेटी रकम संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको हो । पछिल्लो दुई महिना अर्थात् कात्तिक र मंसिरमा मात्र ६८ लाख ११ हजार एक सय १० रूपैयाँ संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए।
सकंलित भेटी रकममध्ये चालु आर्थिक वर्षयता मंसिर मसान्तसम्ममा १० लाख ७० हजार सात सय ८७ खर्च भएको समितिले जनाएको छ । सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, ढुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो रकम खर्च भएको समितिले जनाएको छ ।
खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ बैंकमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिए । त्यसैगरी, बैंकको मुद्दती खातामा ६ करोड ८८ लाख मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र दुई लाख ५२ हजार चार सय ४० रूपैयाँ रहेको समितिले जानकारी दिएको छ।