२०८१ श्रावण १२

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने ।

हिजोदेखि सुरू भएको नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा आज ७ मन्त्रीहरूले  धारणा राख्नेछन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरू हुने नेपाली काँग्रेसले जनाएको छ ।
वर्तमान सरकारमा नेपाली काँग्रेसका ९ जना मन्त्रीहरु छन् । हिजोको बैठक मन्त्रीहरूको ब्रिफिङबाट कार्यसूचीमा प्रवेश गरेको थियो ।
हिजो केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धारणा राखेका थिए । समय अभावका कारण अन्य मन्त्रीले धारणा राख्न पाएनन् ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् कानुनमन्त्री धनराज गुरूङ, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपि साउद, उद्योग मन्त्री रमेश रिजाल, सहरी विकास मन्त्री सिता गुरूङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिका मन्त्री सुरेन्द्रराज आचार्यले धारणा राख्ने कार्यक्रम रहेको छ ।
सरकारमा रहेका मन्त्रीका कामकारबाहीबारे समीक्षा गरिने भएकाले कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गरेको छैन ।