२०८१ श्रावण १२

आजदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ, नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
बिहान ११ बजेदेखि सुरु हुने बैठक तीन दिनसम्मका लागि तय गरिएको छ ।
बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेन्डा रहेको छ । यसअघि सचिवालय बैठकमा नेताहरू ७० वर्षे हद हटाउने गरी विधान संशोध गर्न सहमति भएका थिए ।
एकीकृत समाजवादीले विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागेको छ । केन्द्रीय कमिटीमा यो विषयमा छलफल हुनेछ ।
देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे पनि छलफल गरिने छ । बैठकबाट प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी पनि तोकिनेछ ।
यसका साथै राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार छनोटबारे पनि छलफल हुने समाजवादीले जनाएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गतेका लागि तोकिएको छ ।