२०८१ श्रावण १२

सरकारद्धारा ११५ जात–जाति अल्पसंख्यकको सूचीमा सूचीकृत

काठमाडौँ, सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि ११५ जातिलाई अल्पसंख्यकको सूचीमा राखेको छ । यसअघि अल्पसंख्यकको सूचीमा ९८ जातजाति थिए ।
मन्त्रीपरिषद्को बिहीबारको बैठकले गृह मन्त्रालयको सिफारिस अनुसार कूल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसख्या रहेका जातजातिलाई अल्पसंख्यकका रूपमा तोक्ने निर्णय गरेको छ । गृह मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले अल्पसंख्यक जातजाति तोक्ने व्यवस्था छ । अल्पसख्यकमा सूचीकृत हुने जातजातिको विवरण राजपत्रमा प्रकाशित भएपछि सार्वजनिक हुने गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । “राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम रहेका ११५ जातजातिलाई अल्पसंख्यक सूचीमा राख्न सिफारिस गरिएको प्रवक्ता भट्टराईले बताए ।
राष्ट्रिय जनगणनाका आधारमा संविधानबमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमका जातीय, भाषिक र धार्मिक समूहलाई अल्पसख्यकका रूपमा परिभाषित गरेको छ । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले पछिल्लो जनगणना अनुसार नेपाल सरकारले अल्पसङ्ख्यकका रूपमा तोकेको जातजातिलाई आयोगले निर्वाचन प्रयोजनका लागि पहिचान गर्ने बताउनुभयो । राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते हुँदै छ ।