२०८१ श्रावण १२

प्रधानमन्त्री दाहाल मन्त्रिमण्डल हेरफेरको तयारीमा, मन्त्रीहरुलाई उपत्यका बाहिर नजान निर्देशन

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् । कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएका प्रधानमन्त्री दाहाल मन्त्रीहरूको कामका आधारमा सत्तारूढ दलका साथै सर्वसाधारणबाट समेत आलोचना हुन थालेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने निष्कर्षमा पुगेका हुन् ।
प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुग्दै गर्दा आगामी वर्ष सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् हेरफेरको तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयकोे दाबी छ । कार्यसम्पादन मूल्यांकन अनुसार बितेको एक वर्षमा केही मन्त्रीको ‘रिपोर्ट कार्ड’ निकै कमजोर देखिएको समीक्षासँगै प्रचण्डले दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीबाट गर्न खोजेका हुन् ।
मन्त्रिपरिषद् हेरफेर हुन लागेको संकेतसमेत प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममार्फत गरिसकेका छन् । पुरै सेट कि काममा आधारमा मन्त्रालयका मन्त्री मात्रै फेर्ने भन्नेमा सत्तारूढ दलका बीचमा सहमति हुन सकेको छैन
गत १९ मंसिरमा सार्वजनिक भएको सरकारको तीन महिनाको प्रतिवेदनले सरकारको प्रगति निकै कमजोर देखाएको छ । विभिन्न मन्त्रालयबाट हुनुपर्ने काम सन्तोषजनक नभेटिएपछि मन्त्री, सचिवसहितकै बैठकमा प्रधानमन्त्री दाहालले असन्तुष्टि व्यक्त गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री दाहालले आगामी १० पुससम्ममा मन्त्रीहरूलाई अनिवार्य बाहेक उपत्यकाबाहिर नजान निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले १० पुसमा विशेष सम्बोधन गर्ने तयारी गरिरहेको र त्यसअघि नै आफ्नो दोस्रो वर्षको कार्यकाल पहिलो वर्षजस्तो नहुने सन्देश दिनेगरी केही नयाँ कदम चाल्न खोजेको बताइएको छ ।