२०८१ श्रावण १२

हमास प्रमुख इजिप्टमा, युद्धविराम र बन्धक मुक्त सम्झौता हुनसक्ने आश

काठमाण्डौँ, हमासका नेता इस्माइल हनियाह बुधबार इजिप्ट पुगेका छन् । गाजा पट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न कायरो पुगेको हमास समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इजिप्टका गुप्तचर प्रमुखसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाइका लागि सम्झौता तयार गर्न’ वार्ता गर्ने कार्यक्रम रहेकोे एएफपीलाई बताएको छ । यसअघि कतारमा इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहसँग भेट गरेका हनियाले ‘उच्चस्तरीय प्रतिनिधिमण्डल’को नेतृत्व गर्दै इजिप्टको भ्रमण गरेका हुन ।


यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धक बनाइएका परिवारसँग बन्धकलाई रिहा गर्ने सम्बन्धमा छलफलका लागि आफूले आफ्ना गुप्तचर प्रमुखलाई दुई पटक युरोप पठाएको बताएका छन् । सबै बन्धकहरूको रिहाइको लागि म जिम्मेवार छु, । प्रधानमन्त्री नेतन्याहूले गाजामा अझै पनि रहेका १२९ बन्दीहरूलाई बचाउनु सबैभन्दा ठुलो काम भएको पनि बताएका छन् ।
मोसादका प्रमुख डेभिड बार्नेयाले सीआईएका निर्देशक बिल बन्र्स र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग युरोपमा भेटवार्ता गरेका छन् । इजिप्ट र संयुक्त राज्य अमेरिकाको समर्थन प्राप्त कतारले नोभेम्बरमा एक हप्ता लामो युद्धविराम गर्न सहयोग गरेको थियो जसमा २४० प्यालेस्टिनी कैदीहरूको बदलामा ८० इजरायली बन्धकहरूलाई मुक्त गरिएको थियो भने अन्य मुलुकका केही नागरिक पनि मुक्त भएका थिए ।
भर्जिनियाबाट प्रकाशन हुने समाचार संस्था ‘एक्जिओस’ले हमासले बन्धक बनाएका तीन दर्जनभन्दा बढीको बदलामा कम्तीमा एक हप्ताका लागि युद्ध स्थगन गर्ने इजरायलले प्रस्ताव गरेको पनि जनाएको छ ।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पनि मङ्गलबार आफ्नो देश ‘बन्धकहरूको रिहाइका लागि अर्को मानवीय विराम र थप मानवीय सहायताका लागि तयार रहेको’ बताएका छन् ।
यसैबिच, प्यालेस्टिनी लडाकु समूह इस्लामिक जिहादले गाजामा आफ्नो हिरासतमा रहेका दुई जना बन्धकलाई जीवितै देखाइएको भिडियो फुटेज सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रसघीय सुरक्षा परिषद्ले द्वन्द्व अन्त्यका लागि आह्वान गर्ने प्रस्तावमा मतदान गर्ने तयारी गरेको छ ।
अमेरिकाले यसअघिको युद्धविराम प्रस्तावमा भिटो लगाएको थियो जसको प्यालेस्टिनी र अन्तर्राष्ट्रिय मानवीय समूहहरूले विरोध गरेका थिए । उनीहरूले द्वन्द्वमा फसेका नागरिकहरूलाई मद्दत गर्न थप कदम चाल्न आग्रह गरेका थिए ।
इजरायली सेनाका प्रवक्ता डेनियल हागारीले दक्षिणी गाजाको खान युनिस क्षेत्रमा सेनाले आफ्नो अभियान विस्तार गरिरहेको बताएपछि अहिले युद्ध जारी छ ।
गाजा पट्टीमा भएको पछिल्लो इजरायली आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको हमासको जनाएको छ ।
संयुक्त राष्ट्रसघको अनुमानअनुसार गाजाका २४ लाख बासिन्दामध्ये १९ लाख विस्थापित भएका छन् र सहायता समूहहरूको सहायता गर्ने सीमित क्षमताबारे चिन्ता बढ्दै गएको पनि भनेको छ ।