२०८१ श्रावण १२

संसद्का कार्यवाहक महासचिव पाण्डेयको नागरिकतामा ‘गडबडी’

काठमाडौं, संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकतामा ६ वर्ष उमेर घटाएर १० वर्ष प्रयोग गरेपछि पुनः पुरानै कायम गरेको समाचार सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पामार्फत् प्राप्त टिप्पणी र आदेशअनुसार उनको पहिलो नागरिकतामा जन्ममिति २०२६ असोज १५ गते कायम गरिएको छ । तर, पछि उनले २०६६ साल भदौ ८ गते पाल्पाबाटै लिएको अर्को नागरिकतामा जन्ममिति २०३२ पुस २६ गते रहेको उल्लेख गरिएको छ ।
पछिल्लो नागरिकता उनले १० वर्षसम्म कायमै राखे । त्यसबीचमा उनले लिने तालिम, भ्रमणलगायतका काम गरेको स्रोतले जानकारी दिएको छ । १० वर्षपछि फेरि उनले पुरानै नागरिकता कायम गराएको जिप्रका पाल्पाले जनाएको छ ।
“यो नागरिकता प्रतिलिपि भनेर माग गरिए पनि यसमा केही गडबडी भएको हामीलाई आशंका लागेको छ,” जिल्ला प्रशासन कार्यालय पाल्पाका एक अधिकृतले भने, “उहाँले उक्त नागरिकता प्रयोग गरी लिएको अनुचित लाभबारे सरोकारवाला निकायले अनुसन्धान गर्नुपर्ने बताए ।”
उनले आफ्नो नागरिकता पुरानै कायम गरिपाऊँ भनी नयाँ नागरिकता लिएको नौ वर्षपछि निवेदन दिएका थिए । तर, त्यसबेला जिल्ला प्रशासन कार्यालय पाल्पाले करिब ६ महिनासम्म उनको निवेदन रोकेर राखेको समाचारहरुमा उल्लेख छ ।
२०६६ भदौ ८ गते नयाँ नागरिकता लिएका पाण्डेले २०७५ फागुन ३० गतेमात्रै निवेदन दिएको जिल्ला प्रशासन कार्यालय पाल्पाको रेकर्डमा उल्लेख छ । पछि २०७६ भदौ २३ गते प्रशासकीय अधिकृत रमा श्रेष्ठको हस्ताक्षरमा पुरानो नागरिकता प्रमाणपत्र रद्द गरेर नयाँ कायम गरेको पाइएको छ । २०७५ फागुनमा निवेदन दिए पनि पाण्डेयले २०७६ भदौ २३ गते पुरानै नागरिकता कायम गरेका छन् । उनले पुरानै नम्बरको नागरिकता कायम गरेका हुन् । उक्त १० वर्षको अवधिमा उनले छ वर्ष उमेर घटाइएको नागरिकता प्रयोग गरेका थिए ।
पाण्डेयले पहिलोपल्ट लिएको नागरितामा उनको नागरिकता प्रमाणपत्र नम्बर ३५ रहेको छ भने पछिल्लोपल्ट लिएको नागरिकतामा ३९१०११÷१५५ उल्लेख गरिएको छ ।