२०८१ श्रावण १२

आज वर्षकै ‘उत्कृष्ट’ उल्का बर्षा हुने, नेपालका सबै स्थानबाट खाली आँखाले देख्न सकिने

काठमाडौं, आज राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । आकाश खुल्ला रहेमा नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिने खगोलशास्त्रीहरुले जनाएका छन् ।
खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।
अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । किनकि यो उल्का वर्षा विभिन्न रंगमा देखिने छ । आगोको गोलाजस्तो रंगीचंगी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना अवलोकनमा उत्सुकता बढेको छ ।
नेपालमा स्थानीय समयानुसार आज मध्यरात अर्थात १२ बजेपछि उल्का वर्षा अवलोकन गर्न सकिन्छ । नेपालको जुनसुकै ठाउँबाट आज मध्यरातपछि बिहानीपख ३–४ बजेसम्म उल्का वर्षालाई खाली आँखाले नै अवलोकन गर्न सकिने खगोलशास्त्रीहरुको भनाई छ ।
नेपालको जुनसुकै ठाउँबाट पूर्वतिर फर्किएर आकाशमा हेर्ने हो भने राति १२ बजेदेखि बिहान ३–४ बजेसम्म जेमिनिड्स उल्का वर्षा देखिन्छ ।’ यो धेरै संख्यामा स्पष्ट देखिने भएकाले अरु उल्का वर्षाभन्दा विशेष मानिएको उनले बताए ।
नेपालसहित संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १२० वटासम्म जेमिनिड्स उल्का वर्षा देख्न सकिने बताइएको छ ।उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा उल्कापात पनि भनिन्छ । बलिरहेको यस्तो भग्नावशेषले पृथ्वीलाई कुनै असर भने नगर्ने विज्ञहरुको भनाई छ ।