२०८१ श्रावण १२

हल्दिबारी गाउँपालिकाद्धारा काठे पुल विस्थापित, पालिकाभर पक्की पुल निर्माण

झापाको हल्दीबारी गाउँपालिकाले एक सय ५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण गरेको छ ।
जिर्ण काठे पुलको ठाउँमा कतै कङ्क्रिटका पुल तथा कतै कल्भर्ट हालिएको छ । केही ठाउँमा झोलुङ्गे पुल पनि निर्माण गरिएको अध्यक्ष रवीन्द्र लिङ्देनले बताए । झापामा तीन दशकअघिसम्म अधिकांश खोला र खोल्सामा काठका पुल मात्र थिए । ती पुल घामपानीले खिइँदै तथा पुराना हुँदै जाँदा जीर्ण भएका थिए । “अब हल्दिबारी काठे पुलमुक्त क्षेत्र भएको छ”, अध्यक्ष लिङ्देनले भने ।

होचो भूभागको रुपमा चिनिने हल्दिबारी क्षेत्रमा अजिङ्गर, हात्ती, हरिणलगायत जनावरको बासस्थान रहेको जलथल जङ्गल पनि रहेको अध्यक्ष रवीन्द्र लिङ्देनले बताए ।
४० हजार जनसख्या रहेको हल्दिबारीको गाउँपालिकाको सबै वडामा सडक कालोपत्र गरिएको पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले बताए । पालिकाले विगत छ वर्षमा ६० किलोमिटर सडक कालोपत्र गरेको छ ।
मुख्य सडक कालोपत्र भएपछि देशकै होँचो स्थान कचनकबलदेखि हल्दिबारी हुँदै विर्तामोडसम्म सार्वजनिक बस यातायात सेवा नियमित सञ्चालन भइरहेको छ । सडकको नियमित मर्मतसम्भार गर्नका लागि पालिकाले वार्षिक दुई करोड बजेट छुट्याउने गरेको अध्यक्ष लिङ्देनले बताए ।