२०८१ श्रावण १२

इजरायलले विश्वभरबाट समर्थन गुमाइरहे छ : अमेरिकी राष्ट्रपति

काठमाण्डौं, अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामाथि अन्धाधुन्ध बम आक्रमण गरेर इजरायलले विश्वभरबाट समर्थन गुमाइरहेको टिप्पणी गरेका छन् ।
राष्ट्रपति बाइडेनले गरेको यो टिप्पणीलाई अमेरिकाको तर्फबाट इजरायलप्रति गरिएको सबैभन्दा कडा आलोचनाको रूपमा हेरिएको छ । गत ७ अक्टोबरमा चरमपन्थी समूह हमासद्वारा इजरायलमा गरिएको हमलापछि अमेरिकाले इजरायलको खुलेर समर्थन गर्दै आइरहेको छ । कार्यक्रममा बाइडेनले पुनः एकपटक अमेरिका सधैँ इजरायलको साथमा उभिने बताए पनि सुझाव दिँदै भने, ‘इजरायलको साथमा अमेरिका खडा छ । ऊसँग अमेरिकाबाहेक अन्यको पनि साथ छ । युरोपेली संघ छ, युरोपको साथ छ । उसको साथमा विश्वको अधिकांश हिस्सा छ । तर, अन्धाधुन्ध बम आक्रमणले त्यो समर्थन गुम्दैछ उनले भने ।


हमासमाथि कारबाहीको आवश्यकताबारे कुनै प्रश्न छैन र यस्तो गर्नका लागि इजरायलसँग पुरा अधिकार छ ।’ यद्यपि, पछिल्ला दिनहरूमा अमेरिकाले इजरायललाई ‘मानव जीवनलाई प्राथमिकता दिन र गाजाका सर्वसाधारणलाई द्वन्द्वबाट बचाउन’ सुझाव दिँदै आएको पनि बाइडेनले बताए ।
वरिष्ठ अमेरिकी अधिकारीहरूले पनि इजरायलको यो रवैयाप्रति असन्तोष जनाएका छन् । विश्वका कयौँ देश, संयुक्त राष्ट्रसंघ र मानवअधिकारवादी संस्थाहरूले इजरायली बम आक्रमणको आलोचना गर्दै आइरहेका छन् । उनीहरूले तत्काल युद्धविराम गर्न माग गरिरहेका छन् । मंगलबार गाजामा हमासको स्वास्थ्य मन्त्रालयले ७ अक्टोबरपछिको बम आक्रमणमा अहिलेसम्म १८ हजार ४ सयभन्दा बढी मानिस मारिसकेको जानकारी दिएको छ । उता हमासको आक्रमणमा १२ सय इजरायली मारिएका थिए ।