२०८१ श्रावण १२

बंगलादेशमा राजनीतिक टकराव, विपक्षीदलका २० हजारभन्दा बढी नेता पक्राऊ

मा राजनीतिक टकराव, विपक्षीदलका २० हजारभन्दा बढी नेता पक्राऊ

बंगलादेशको   प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले बताएका छन् ।
बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले पछिल्ला दुई सातामा हिरासतमा आफ्ना पाँच कार्यकर्ताको मृत्यु भएको पार्टीका कानून प्रमुख कैसर कमालले एएफपीलाई बताएका छन् । “हामी मृत्युको पूर्ण न्यायिक र निष्पक्ष अनुसन्धान चाहन्छौँ, यो गम्भीर छ”, उनले भनेका छन् “राष्ट्रव्यापी कारवाहीमा गिरफ्तार गरिएपछि धेरै बिएनपी कार्यकर्तालाई प्रहरी हिरासतमा प्रताडित गरिएको उनको आरोप छ ।


बिएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल प्रदर्शनपछि भएको कारबाहीमा उसको सम्पूर्ण नेतृत्व र २० हजारभन्दा बढी राजनीतिज्ञलाई पक्राउ गरिएको छ । प्रहरीले बिएनपीको गिरफ्तारीको आँकडालाई अस्वीकार गरेको छ तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।
पक्राउ परेका परिवारका केही सदस्यसहित बिएनपीका केही हजार समर्थक कार्यकर्ताहरूको रिहाइको माग गर्न आइतबार मध्य ढाकामा जम्मा भएका थिए । गत महिना न्युयोर्कस्थित ह्युमन राइट्स वाचले अक्टोबर २८ को प्रदर्शनपछि कम्तीमा १० हजार विपक्षी समर्थकलाई गिरफ्तार गरिएको अनुमान गरेको थियो ।
प्रहरीका अनुसार सो प्रदर्शनपछि भएको हिंसामा एक प्रहरी अधिकारी र पाँच सर्वसाधारणको ज्यान गएको तथा करिब तीन सय बसमा आगजनी भएको थियो । यद्यपि बिएनपी र सबैभन्दा ठूलो इस्लामी दल जमात–ए–इस्लामीले कम्तीमा २० मानिसको ज्यान गएको बताएका छन् । जमात–ए–इस्लामीमाथि गत महिना प्रतिबन्ध लगाइएको थियो ।
आगामी जनवरी ७ मा हुन गइरहेको आम निर्वाचनलाई बिएनपीले बहिष्कार गरेको छ । उक्त निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने निश्चित छ ।