२०८१ श्रावण १२

आज बालाचतुर्दशी, पितृका नाममा शतबीज छर्दै

बालाचतुर्दशी अन्तर्गत पितृका नाममा आज शतबीज छर्ने कार्य भएको छ ।
अघिल्लो दिन साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् ।
प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा छ । सोमबार बिहान काठमाडौंको पशुपतिनाथ मन्दिर वरपर शतबीज छर्नेहरुको घुइँचो थियो । पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।
शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु¥याइदिन अनुरोध गर्ने चलन छ ।


शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन छ ।
शतबीजमा हाल धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । तर, नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम भन्छन्, ‘हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्छ,।’
माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज छर्न नहुने समितिका अध्यक्ष गौतमले बताए ।
त्यसैगरी पूर्वको अर्जुनधारा, बराहक्षेत्र, लगायत देशभरका शिवमन्दीरहरुमा भक्तजनले आज बिहानैदेखि पितृको सम्झनामा शतबीज छरेका छन् ।