२०८१ श्रावण १२

नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित, नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर

काठमाडौँ, एसिसी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) स्थित् आइसिसी एकेडेमी ओभल २ मैदानमा आइतबार भएको खेलमा २६२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल ४२ दशमलव १ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८८ रनमा समेटिएको थियो । लगातार दोस्रो हारसँगै नेपालको सेमिफाइनल पुग्ने गणितिय सम्भावना कमजोर बनेको छ ।
नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । नेपालका लागि अर्नुन कुमालले सर्वाधिक ९१ रन बनाए । उनले एक सय आठ बलमा १३ चौकाको सहयोगमा उक्त रन बनाएका हुन । देब खनालले २४, गुलशन झाले १७, दीपक बोहोराले १५ र दीपेश कंडेलले ११ रन बनाए ।


बलिङ्मा अफगानिस्तानका नासिर खान मारोफ्खिल र फ्रिडोन डाउडजाईले तीन तीन विकेट बनाए । मोहमद युनुसले दुई–दुई तथा वाहिदुल्हा जार्दन र खलेल अहमदले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलव ३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६१ रन बनाएको थियो ।
अफगानिस्तानका लागि जस्मित जर्दानले अविजित एक सय ६ रनको सतकीय पारी खेल्नुभयो । उहाँले एक सय ५२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
नुमन शाहले ६०, रहिमुल्लाह जुरमतिले ३५, वाफिल्लुहा ताराकहिलले १५, खलेल अहमदले १३ र खलिद तानिवालले १० रन बनाउनुभयो ।
बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुलशन झाले दुई–दुई विकेट लिए । आकाश चन्द र दीपेश कँडेलले एक एक विकेट झारे ।
एसिया कपमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा निकै बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् ।
एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यु–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ गते भारतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।