२०८१ कार्तिक ६

सहुलियत पसलबाट आठ करोडभन्दा बढीको करोबार,पसल पुस मसान्तसम्म सञ्चालन हुने

काठमाडौँ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरी सञ्चालन गरेको सहुलियत मूल्य पसलबाट आठ करोड रुपियाँभन्दा बढीको कारोबार गरेको छ ।
असोज २१ देखि मङ्सिर १९ सम्म खाद्य कम्पनीले उपत्यकासहित देशका ४९ स्थानमा सञ्चालित सहुलियत मूल्य पसलबाट आठ करोड ३० लाख पाँच हजार ८ सय ५९ रुपियाँ बराबरको कारोबार गरेको हो ।
खाद्य कम्पनी बागमती प्रदेशका बिक्री प्रबन्धक प्रमुख ज्ञानु थापाले वस्तु र सेवाका हिसाबले सबैभन्दा धेरै चामल, तेल, आँटा र चिउरा बिक्री गरे पनि रकममा सबभन्दा बढी कारोबार च्याङ्ग्रारा र खसीबोकाको भएको जानकारी दिए ।


आगामी पुस मसान्तसम्म सञ्चालन हुने खाद्य कम्पनीको सहुलियत मूल्य पसलबाट बिक्रीका लागि राखिएका १२ प्रकारका चामलमध्ये सबैभन्दा धेरै स्टिम जिरा मसिनो र अरुवा सोना मनसुली चामल बिक्री भएको छ । तीन करोड ५१ लाख १८ हजार बढीको चामलको कारोबार भएकामा एक करोड ७२ लाख १९ हजार रुपियाँको स्टिम जिरा मसिनो र अरुवा सोना मनसुली २५ केजीवाला ९८ लाख रुपियाँभन्दा बढीको बिक्री भएको जनाएको छ । बाँकी मोटा चामल, बासमती, कागुनो, चिनो, लङ ग्रेन, काला नुनिया, मार्सी चामल बिक्री भएको छ ।
सरकारसँग अनुदान लिएर चाडपर्वका बेलामा खाद्य कम्पनीले खसीबोका र च्याङ्ग्रा मात्रै चार करोड ८३ लाख रुपियाँभन्दा बढीको सबैभन्दा धेरै कारोबार गरेको छ । एक करोड ७५ लाख ६८ हजार ६९० रूपियाँ बराबरको च्याङ्ग्राको कारोबार भएको छ भने दुई करोड ५२ लाख ४९ हजार रुपियाँको खसीको कारोबार भएको छ । यस्तै सो अवधिमा ५५ लाखभन्दा बढी मूल्यको बोका बिक्री भएको छ ।

Consumers throng Fair Price Shop at Jadibuti operated by Nepal Salt Trading Ltd in Kathmandu, on Wednesday, September 28, 2016. Photo: RSS

यस्तै सो अवधिमा खाद्य कम्पनीले ३७ लाख ८० हजार बढीको दाल, कर्णालीको सिमी, फापर, चिउरा र गहुँ बिक्री गरेको भने ४७ लाख ८५ हजार रुपियाँको खाने तेल र चिनी बिक्री भएको छ ।
त्यसै गरी नौ लाख ९३ हजार रुपियाँको ग्यास, विद्युतीय चुलो र भाँडा बिक्री गरेको कम्पनीले जनाएको छ । खाद्य कम्पनीले उपत्यकासहित देशका ४९ वटा स्थलबाट बिक्री गर्दै आएकामा सबैभन्दा धेरै कारोबार कम्पनीको बागमती कार्यालय थापाथलीबाट लगभग पाँच करोड रुपियाँको कारोबार भएको कम्पनीले जनाएको छ ।