२०८१ श्रावण १२

बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा, कोर क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने ।

काठमाडौं, बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिनाथ मन्दिर परिसरमा आइतबार (भोली) रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । कोषले बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजना अनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको छ ।’


यसैगरी मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि शतबीज छर्ने परम्परा भएकाले मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने कोषले जनएको छ ।
कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सभावनालाई मध्यनजर गरी बहुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ । यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ ।
मदिराजन्य पदार्थ बिक्री वितरण हुन नदिन तथा अन्य अवाञ्छित गतिविधि नहोस् भन्नका विशेष सुरक्षा टोली परिचालन गर्नुका साथै ठाउँ ठाउँमा सिसी क्यामेरा जडान गरिएको कोषका सदस्यसचिव खत्रीले बताए ।
यसैगरी पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।


पशुपतिनाथमा मङ्सिर २४ र २५ गते लाग्ने बालाचतुर्दशी पर्वलाई सभ्य र भव्यताका साथ सफल पार्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण जनशक्ति खटिएको पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक डा खतिवडाले बताए ।