२०८१ श्रावण १२

गण्डकी प्रदेशमा गठबन्धनले सहमति पालना गरेन : अध्यक्ष नेपाल

 

पोखरा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहमतिको पालना नगरेको आरोप लगाएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल कास्कीले पोखरामा शनिबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले देशको अर्थतन्त्रमा देखिएको संकटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताए । उनले ऋण तिर्न नसकेर गम्भीर सङ्कटमा परेका व्यवसायीलाई ऋण चुक्ता गर्ने समय बढाएर हुन्छ वा ब्याजदर घटाएर हुन्छ राहत तथा लगानीकर्ता र ऋणीलाई सहुलियत दिनेबारे सरकारले सोच्र्नु अवस्था आएको पनि बताए ।
अध्यक्ष नेपालले जनताका पीडा समाधान गर्ने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले बेथिति र विसङ्गति अन्त्यका लागि पटक–पटक आफ्नो पार्टीले सरकारको ध्यानाकर्षण गर्दै आएको बताए । एकीकृत समाजवादी चुनौती सामना गर्ने आँट राखेर सबै शक्तिलाई एकताबद्ध बनाएर अघि बढिरहेको अध्यक्ष नेपालले स्पष्ट पारे । “हामी कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनौँ । हाम्रो निम्ति राष्ट्र र जनता नै मूल कुरा हुन् । राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको प्रवर्द्धन र स्वाभिमानको रक्षा हाम्रो निम्ति मुख्य कुरा हुन”, उनले भने ।
केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आफ्नो विकासको प्राथमिकता तोकेर त्यही अनुरुप काम गर्नुपर्ने अध्यक्ष नेपालको सुझाव थियो ।