२०८१ श्रावण १२

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माधवनारायण नगरपालिका– ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।
खेत जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेका छन् । बिहान ११ः४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खस्दा पण्डित सहित चौपायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले बताए ।
प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।