२०८१ श्रावण १२

हिमाल आरोहणका लागि एक हजार ३ सय २९ जनाले अनुमति लिएः पर्यटन विभाग

काठमाडौँ, आगामी शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३ सय २९ जनाले अनुमति लिएक पर्यटन विभागले जनाएको छ  ।
पर्यटन विभागका अनुसार शुक्रबार स्वदेशी तथा विदेशी गरी १ सय ७२ समूहका एक हजार ६९ जना पुरुष र २ सय ६० जना महिलाले आरोहण अनुमति लिएका छन् ।
आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिनेहरू रहेक विभागका निर्देशक राकेश गुरुङले बताए । “अमादब्लम आरोहणका लागि ४५ समूहका ४ सय १२ जना पुरुष र ८० जना महिला गरी ४ सय ९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएको निर्देशक गुरुङले बताए ।

त्यस्तै, मनासलु आरोहणका लागि ३ सय १, हिमलुङ आरोहणका लागि १ सय २५ जनाले अनुमति लिएका छन । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १ सय ३०, फ्रान्सका १ सय २९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्यान्डका ५० जना रहेका छन् । यो सिजनको आरोहण अनुमतिबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपियाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
पर्यटन विभागका अनुसार यस पटक विभिन्न छ मुलुकका २२ जनाले नेपालका हिमालबाट स्की गर्नका लागि अनुमति लिएका छन । स्कीका लागि सबैभन्दा अनुमति लिनेमा फ्रान्सका नागरिक रहेका छन । उनीहरूले हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने छन ।
स्कीका लागि फ्रान्सका १५, फिनल्यान्डका एक, अमेरिकाका दुई, नेपालका तीन र नर्वेका एक जनाले विभागबाट अनुमति लिएका छन् । स्कीको अनुमति लिएकामध्ये फ्रान्सका तीन जना र एक फिनल्यान्डका एक जना महिला छन् । विभागले हिमलुङ, धवलागिरि, मनासलु, रत्नचुली, पुथा हिउँचुली, एभरेस्टलगायतका हिमालमा स्की अनुमति दिँदै आएको छ । विभागले तोकिएको हिमाल क्षेत्रमा स्की खेल्न फोहोरमैला व्यवस्थापनका लागि पाँच सय डलर र स्कीका लागि १० जनासम्मको एक समूहले हजार डलर रोयल्टी बुझाउनु पर्छ ।