२०८१ श्रावण १२

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाण्डौंमा हुने, २६ देशका ५४ वटा चलचित्र महोत्सवमा प्रदर्शन गरिने

काठमाडौं, नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसिर २३ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
‘सामूहिक अधिकार’ नारासहित मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सवको ११औं संस्कारण चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ ।
महोत्सवको उद्घाटन चलचित्रको रूपमा सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शन गरिनेछ ।
विश्वभरीबाट खुला आवेदन मार्फत संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सवमा नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, अयारल्यान्ड, किर्जिस्तान, जर्जिया, पोल्यान्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानवअधिकारका विषयमा निर्मित चलचित्र तथा वृत्तचित्रहरू प्रदर्शन गरिनेछ ।
महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई छन् । महोत्सवमा जुरीबाट छनोट भएका उत्कृष्ट पाँच चलचित्रलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय शर्ट फिक्सन तथा नन्फिक्सन र नेपाली सर्ट फिक्सन तथा नन्फिक्सन विधामा नगदसहित पुरस्कार प्रदान गरिनेछ । महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस हुने आयोजकले जारी गरेको पिज्ञप्तिमा उल्लेख छ । महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता’ र ‘सामूहिक अधिकार : अन्तर्राष्टिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरुबीच दुईवटा प्यानल बिच छलफल पनि राखिएको छ ।