२०८१ श्रावण १२

कांग्रेसमा शीर्ष नेता राष्ट्रिय सभा सदस्य बन्ने दौडमा

काठमाडौं, नेपाली कांग्रेसका शीर्ष नेताहरु राष्ट्रिय सभा सदस्यका आकांक्षी देखिएका छन् ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित एक जना सहित २० जना सदस्यको कार्यकाल आगामी फागुनमा सकिंदैछ । १९ सदस्यका लागि ११ माघमा निर्वाचन तय भएको छ । सत्तारुढ दलहरुले गठबन्धन गरेरै चुनाव लड्ने भएकाले कांग्रेसको भागमा बढीमा ८÷९ सांसद पर्ने सम्भावना छ । तर आकांक्षी भने वर्तमान तथा पूर्वपदाधिकारीहरु समेत छन् ।
पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र फरमुल्लाह मन्सुरलाई पनि आकांक्षीका रुपमा हेरिएको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि राष्ट्रियसभा सदस्यको आकांक्षीका रुपमा हेरिएको छ । अध्यक्ष बन्ने गरी सिटौला राष्ट्रियसभामा जान खोजेको कांग्रेसका नेताहरु बताउँछन् । त्यसैगरी, पूर्वउपसभापति गोपालमान श्रेष्ठले त पार्टी सभापतिलाई भेटेर राष्ट्रियसभामा जान इच्छा राखेका छन् ।
प्रतिनिधिसभाको समानुपातिकमा रहेका उनको नाम आदिवासी जनजाति पुरुषमा पहिलो नम्बरमा थियो । श्रेष्ठले समानुपातिक सांसद हुन जोडबल गरे पनि सकेनन् । पुरुषतर्फ तीन जना मात्र पठाउन पाएको कांग्रेसबाट विमलेन्द्र निधि, डा. प्रकाशशरण महत र जीवन परियार सांसद बने ।
उनले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम समेत फिर्ता लिइसकेका छन् । निर्वाचन ऐनको दफा ३० (२) मा ‘प्रतिनिधिसभा गठन भइसकेपछि मनोनयन गर्ने दलले कुनै उम्मेदवारको नाम हटाउन लेखी पठाएमा आयोगले बन्दसूचीबाट त्यस्तो उम्मेदवारको नाम हटाउन सक्ने’ उल्लेख छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन उम्मेदवारी दर्ता (२३ पुस) अगाडि बन्दसूचीबाट नाम हटाइसकेको हुनुपर्छ ।