२०८१ श्रावण १२

नेपालले उत्पादनमूलक क्षेत्रमा थप युवा दक्षिण कोरिया पठाउने, पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन पाउने ।

दक्षिण कोरियाले विदेशी कामदार लैजाने दायरा विस्तार गर्ने भएसँगै नेपालले उत्पादनमूलक क्षेत्रमा थप युवा पठाउने दिशामा आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
वैदेशिक रोजगार विभागको ईपीएस शाखाले भाषा परीक्षाका लागि आवेदन दिन यही मंगलवार विज्ञापन प्रकाशित गरेको छ ।
“धेरै आकाक्षीहरू हुन सक्ने भएकाले परीक्षा लिन महिनौँ लाग्न सक्छ । त्यो भएर हामीले आवेदन दिनका लागि जम्मा पाँच दिन दिएका छौँ,” शाखाका निर्देशक गुरुदत्त सुवेदीले भने । सोका लागि आउँदो पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन पाउनेछनकोरियाले कृषि तथा पशुपालन, उत्पादनमूलक र शिप बिल्डिङमा कामदार लैजाँदै गरेकोमा अब निर्माण र सेवामा पनि लैजान लागेको हो ।
निर्देशक सुवेदीका अनुसार कोरियाले उत्पादनमूलक क्षेत्रका लागि भनेर लैजाने कामदारले साना तथा मझौला उद्योगमा काम गर्नेछन् । उत्पादनमूलक क्षेत्रमा जाने श्रमिकको हकमा खासै शैक्षिक योग्यता नचाहिने विभागका अधिकारीहरूले बताएका छन ्।
अधिकारीहरूका अनुसार शैक्षिक योग्यता साधारण लेखपढ गर्न जानेको हुनुपर्ने निर्देशक सुवेदीले भने । उमेर हकमा भने आवेदक १८ वर्ष पुगेको र ३९ वर्ष ननाघेको हुनुपर्ने छ । ईपीएस शाखाका अनुसार आवेदन दस्तुर २८ डलर लाग्नेछ र आवेदन भर्नका लागि पासपोर्ट अनिवार्य रूपमा चाहिन्छ ।
आवेदकहरूले अनलाइनमार्फत् फारम भर्न पाउनेछन् जसको परीक्षा कोरियालीहरूले नै लिनेछन् । दैनिक आठ सय जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको ईपीएस शाखाले जनाएको छ । “भाषा परीक्षामा पास भएकाहरू सीप परीक्षणमा पनि उत्तीर्ण भएपछि स्वास्थ्य परीक्षण गराएर उनीहरूको नाम हामी रोस्टरमा चढाउँछौँ,” सुवेदीले भने ।
रोस्टरमा चढाइसकेपछि त्यसलाई रोजगारदाता कहाँ पठाइन्छ । उनीहरूबाट छनोट भएपछि यहाँ श्रम स्वीकृति जारी हुन्छ । अनि भिसा लागेर जाने प्रक्रिया अधि बढ्ने सुवेदीले बताए ।