२०८१ श्रावण १२

इलामलाई १–० गोलले हराउँदैे पोखरा शीर्ष स्थानमा

काठमाडौं, पोखरा थन्डर्सले स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्ध १–० को जित निकाल्दै नेपाल सुपर लिगको दोस्रो संस्करणमा अपराजित यात्रालाई कायम राखेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा पोखरालाई जित दिलाउन सञ्जिवले गरेको गोल निर्णायक बन्यो । खेलको ४६ औँ मिनेटमा सञ्जिव विष्टले गोल गर्दै पोखरालाई अग्रतामा राखेका थिए ।
पहिलो हाफभर इलामको निरन्तर दबाब झेलेको पोखराले मध्यान्तरसम्म गतिलो आक्रमण गर्न सकेको थिएन ।
खेलको सुरुआतबाटै आक्रमण बुनेको इलामले छैटौँ मिनेटमा गोलको सुन्दर अवसर गुमायो । ११ औँ मिनेटमा एक समर्थक मैदान प्रवेश गरेपछि खेल एक मिनेट रोकिएको थियो । उनले मैदानमा इलामका फोडे कामारालाई नेपालको झन्डा ओडाएका थिए ।
प्रतियोगितामा पोखराको यो दोस्रो जित हो । जितसँगै चार खेलबाट आठ अंक जोडेको पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा प्रतियोगितामा हालसम्म अपराजित छ । दोस्रो स्थानको धनगढीले भने तीन खेलबाट सात अंक जोडेको छ ।
इलामको भने यो प्रतियोगिताको तेस्रो हार हो । चार खेलमध्ये एकमा जित निकालेको इलाम तीन अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।