२०८१ श्रावण १२

नेपाल राष्ट्र बैंकद्धारा विकास ऋणपत्र बिक्री, ऋणपत्र यही मंसिर २० गते निष्कासन हुने

 

नेपाल सरकारलाई आवश्यक रकम जुटाउन नेपाल राष्ट्र बैंकले सात अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले आठ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘च’ बिक्री गर्न लागेको हो ।
बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदका लागि बैक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने छ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने राष्ट्र बैकले जारी गरेको सूचनामा उल्लेख छ । प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् पाँच अर्ब ९५ करोड रुपियाँ छुट्याएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् एक अर्ब पाँच करोड छुट्याएको छ ।
इच्छुक लगानीकर्ताले मंसिर १९ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म माग गर्न सकिने छ । ऋणपत्र यही मङ्सिर २० गते निष्कासन हुने छ भने २०८८ मंसिर २० गते साँवा भुक्तानी हुने छ ।
विकास ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने राष्ट्र बैकले जनाएको छ ।