२०८१ श्रावण १२

हुम्लामा खाद्यन्न अभाव, खाद्यन्न ढुवानीमा सिम्रिक एयरको ढिलासुस्ती

हुम्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम खाली हुँदा डेढ महिनादेखि सर्वसाधारण खाद्यान्न पाउनबाट वञ्चित भएका छन ।
चालु आर्थिक वर्षको निर्धारित कोटाको खाद्यान्न हालसम्म ढुवानी हुन नसक्दा यस्तो समस्या भएको हो । असोज महिनादेखि लिमिटेडको शाखाबाट वितरण हुने खाद्यान्न पाउन नसकेको सर्वसाधरणको गुनासो छ । लिमिटेडको शाखामा जाँदा गोदाममा खाद्यान्न मौज्दात नभएका कारण बिक्री गर्न नसकिने जवाफ आउने गरेको सर्वसाधरणको गुनासो छ ।
यस वर्षको कोटाको खाद्यान्न हालसम्म ढुवानी हुन नसकेका कारण लिमिटेडको गोदाम खाली भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिए । प्रजिअ पोखरेलले खाद्य केन्द्रलाई यसबारे समयमै जानकारी गराइसकेको भन्दै खाद्य व्यवस्था समितिको बैठक राखेर लिखित रूपमा जानकारी गराइने बताए । उनले खाद्यको केन्द्रले ढुवानीमा ढिलाइ गरेकाले जिल्लामा खाद्यान्न वितरणमा समस्या आएको बताए ।
साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौबाट ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्स छनोट चरणमा रहेकाले गोदाम खाली हुने अवस्था आएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीको भनाइ छ । लिमिटेडले भदौ महिनामा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो । हाल गोदाममा १२० क्विन्टल मात्र खाद्यान्न रहेको र सो बिक्री गर्न सक्ने अवस्थामा नरहेको पनि बताए ।
चाँडै ढुवानी नभए भैपरी आउने कार्य जन्म, मृत्यु, कैदीबन्दीलाई पनि अब वितरण गर्न नसकिने अवस्था छ । प्रमुख अधिकारीले कार्यालयमा खाद्यान्नका लागि आउने सर्वसाधारणलाई रित्तो हात फिर्ता पठाउनुको अन्य विकल्प कार्यालयसँग नरहेको बताए । उनले अहिले ढुवानीका लागि सप्लायर्स सिम्रिक एयरको हेलिकोप्टर छनोट भएर सम्झौता मात्र भएको तर उक्त एयरलाइन्सले खाद्यान्न बुझेर ढुवानी गर्ने काम अगाडि नबढाएका कारण जिल्लामा खाद्यान्न समस्या देखिएको बताए ।
यस वर्ष हवाई मार्गको खाद्यान्न सुर्खेतबाट छ हजार र नेपालगन्जबाट चार हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । यो खाद्यान्न सिम्रिक एयरले नेपालगन्जबाट प्रतिकेजी १४३ रुपियाँ र सुर्खेतबाट प्रतिकेजी १३७ रुपियाँमा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेको छ ।