२०८१ श्रावण १२

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, मनाङमा पनि सोमबार बिहानदेखि हिउँ पर्यो ।

काठमाण्डौं, आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।
निरन्तर हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन सकेको छैन । आइतबार साँझदेखि वर्षा भए पनि सोमबार बिहानदेखि नै हिमपात भएको होे । हिमपात भएपछि पूर्वी रुकुमदेखि पोखरा काठमाडौँ चल्ने सवारी साधन बिहानसम्म हिउँ पन्छाएर यात्रा गरे पनि अहिले पूर्ण रुपमा बन्द भएको छ ।


ढोरपाटन सिकार आरक्षण क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ । बिहानदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले बताए ।
यता, मनाङमा पनि सोमबार बिहानदेखि हिउँ परेको पर्यटन व्यसायी ओङमा गुरुङले बताए । उनका अनुसार सोमबार बिहान ८ बजेबाट हिउँपर्न शुरु गरेको र हालसम्म ४—५ इञ्च हिउँ परेको उनको भनाइ छ ।

लामो समयपछि वर्षासँगै हिमपात हुँदा किसान भने हर्षित भएका छन् । खेतबारीमा लगाको गहुँ, जौ र तोरी सुक्न थालेपछि चिन्तित बनेका किसानलाई यो बेलाको वर्षाले राहत दिएको  छ  ।