२०८१ श्रावण १२

केरुङ–काठमाडौँ रेलमार्ग सर्वेक्षण हुँदै, नुवाकोट सकेर रसुवामा सर्वेक्षण सुरु

आनन्द गुरुङ,काठमाडौँ–प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्ग अन्तर्गत नुवाकोट खण्डको हवाई सर्वेक्षण (एरियल सर्भे) सम्पन्न भएको छ ।
चीनमा रहनुभएका रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले नुवाकोट खण्डको हवाई सर्वेक्षण सम्पन्न भएर अहिले रसुवा खण्डको सर्वेक्षण सुरु भएको जानकारी दिएका छन् । रसुवा खण्डको सर्वेक्षणपछि काठमाडौँ खण्डको काम सुरु हुने निर्देशक बिसुरालले जानकारी दिए । निर्देशक बिसुरालले अहिले चीनको प्राविधिक टोलीले ड्रोनमार्फत तस्बिर र भिडियो खिचेर सर्वेक्षण गरिरहेको छ । सो सर्वेक्षण गर्न गत वर्ष पुसको अन्तिम साता चीनको रेलवे प्राविधिक टोली नेपाल आएको थियो ।


नेपाल र चिनबिच भएको सम्झौता अनुसार ४२ महिनाभित्र सो आयोजनाको सम्पूर्ण सर्वेक्षण पूरा गर्नुपर्ने छ । जसमध्ये एक वर्ष लगाएर मात्र नुवाकोट खण्डको सर्वेक्षण सम्पन्न गरिएको हो । अझ दुई वटा जिल्लाको सर्वेक्षण बाँकी छ ।
महानिर्देशक बिसुरालका अनुसार अध्ययनको पहिलो चरणमा हवाई सर्वेक्षण (एरियल सर्भे), दोस्रोमा भौगोलिक अनुसन्धान (जियोलोजिकल इन्भेस्टिगेसन) र तेस्रोमा रेल पङ्क्ति योजना (रेलवे अलाइनमेन्ट) तथा लागत अनुमानसम्बन्धी अध्ययन गरिने छ । प्राविधिक रूपले यो आयोजना कठिन र चुनौतीपूर्ण रहेको उनको भनाई छ ।


नेपालका तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका क्रममा चिनियाँ समकक्षीले केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत अध्ययनका लागि छिट्टै नै विज्ञ टोली नेपाल पठाउन गर्नुभएको प्रतिबद्धता अनुसार चीनको टोली नेपाल आएको थियो ।
‘बेल्ट एन्ड रोड’ अवधारणा अन्तर्गत नेपालले चीनसँग प्रस्ताव गरेका विभिन्न विकास परियोजनामध्ये केरुङ–काठमाडौँ रेलमार्ग पनि एक हो । यस परियोजनाले नेपाललाई भू–परिवेष्ठितबाट भूजडित मुलुकका रूपमा रूपान्तरण हुने विश्वास गरिएको छ ।
रेलमार्ग निर्माणका लागि चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपाल रेल आउने हो । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुने विश्वास गरिएको छ ।
केरुङ–सिगात्सेको दुरी ५४० किलोमिटर छ भने प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको दुरी ७२ किलोमिटर छ । रसुवागढीदेखि केरुङसम्मको दुरी २५ किलोमिटर छ ।


२०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सो रेल परियोजनाको सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो ।