२०८१ श्रावण १२

परराष्ट्रमन्त्री कतार जाने, हमासद्धारा बन्धक विपिन जोशीको रिहाइको पहल गर्ने

काठमाडौं, परराष्ट्रमन्त्री एनपी साउद हमासको बन्धकमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि कतार जाने भएका छन् ।
विद्रोही समूह हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ गते कतार जान लागेका हुन् । यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मंसिर ७ गते (बिहीबार) परराष्ट्रमन्त्री जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए।
परराष्ट्रमन्त्री साउदले गृहजिल्ला कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवाआमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा परराष्ट्रमन्त्री साउद दोहा २१ औं फोरममा पनि सहभागी हुनेछन् । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।