२०८१ श्रावण १२

ताप्लेजुङमा यातायात र बजार ठप्प, पर्यटक एवं तीर्थयात्री अलपत्र

ताप्लेजुङ, पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइ गर्न माग राखेर पहिचान पक्षधरले आह्वान गरेको बन्दका कारण ताप्लेजुङमा यातायात र बजार ठप्प भएको छ ।
बन्दका कारण बुधबार बिहानैदेखि बजार पसल तथा यातायात पूर्णरुपमा ठप्प भएको हो ।
सदरमुकाम फुङ्लिङ बजार पूर्णरुपमा बन्द भएको छ भने सबै किसिमका सवारी साधन ठप्प पारिएको छ । बजार पसल बन्द भएपछि उपभोक्ता र व्यापारीबिच सामग्री खरिदबिक्री ठप्प भएको छ ।
यस्तै, सवारी साधन ठप्प हुँदा यात्रुले यात्रा गर्न पाएका छैनन् । ताप्लेजुङबाट छुट्ने लामो तथा छोटो दूरीका कुनै पनि यातायातका साधन चल्न दिइएको छैन । यातायातका साधन नचल्दा भ्रमण तथा पाथिभराको दर्शनमा आएका पर्यटक एवं तीर्थयात्री अलपत्र परेका छन्।


बन्दलाई सफल बनाउन पहिचान पक्षधरका कार्यकर्ता फुङ्लिङ बजारका चोक–चोक र मेची राजमार्ग अन्तर्गत बजारका सडकहरूमा बिहान सबेरैदेखि खटेका छन् । एम्बुलेन्स, दुग्धजन्य तथा तरकारीजन्य वस्तु बोकेका साधनलाई भने कुनै रोकावट नभएको बन्द आह्वान गरेको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका जिल्ला संयोजक डम्बर पालुङवाले जानकारी दिए ।
पहिचान पक्षधरले गएको आइतबार नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई र एमाले पोलिटब्युरो तथा प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बोलाई कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनसँगै आन्दोलनकारी समूहले प्रतिनिधि सभा सदस्य भट्टराई सवार गाडीमा तोडफोड गरेका थिए ।


भट्टराई र मेन्याङ्बोविरुद्धको आन्दोलनका क्रममा प्रहरीले पक्राउ गरेको कार्यकर्ता विपिन कङ्लिवा र आनन्द कङ्लिवाको बिनासर्त रिहाइको माग राखेर सो समूहले बन्दसहितको आन्दोलन सुरु गरेको हो । पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहाइ नगरे वा गलत मुद्दा लगाएर फसाउन खोजिए अनिश्चित बन्द आह्वानसहित आन्दोलनलाई सशक्त र व्यापक बनाउँदै लैजाने पहिचान पक्षधरका नेता नवीन पोमूले बताए ।